RayNewsDaily
शेयर बजारमा २६ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ ।  गत बिहीबार घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २६.३६ अंक घटेर २०२२.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ ।

आज ५ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, अन्य ५ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मानुषी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र शुभम् पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको करिब २० करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम साढे १५ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक आज १.०३ प्रतिशत बढेको छ । जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update