RayNewsDaily
प्रधानमन्त्री प्रचण्डले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै   

रमेश लम्साल / नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।    
    
प्रधानमन्त्री दाहालले आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने छ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।    
    
ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    
    
द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नुभएको छ ।    
    
प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update