काठमाडौं । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, रौतहट, बारा, पर्सा, दाङ, बाँके, बर्दिया लगायतका तराईक्षेत्रको जनजीवन कष्टकर बनेको छ । लामो समयदेखि वर्षा नहुनु र पश्चिमी वायुको प्रभावले चलेको तातो हावाको कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।
विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले चन्द्रगढी, विर्तामोठ, दमक, विराटनगर, इनरुवा, राजविराज, बीरगञ्ज, खजुरा बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको स्थानीय सञ्चारकर्मीहरुले बताएका छन् । यस्तै अत्यधिक गर्मीका कारण सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । झापाका धेरै विद्यालयहरु अत्यधिक गर्मीका कारण बन्द गरिएका छन् । विराटनगरस्थित स्थानीय पत्रकार महेश भट्टराई गर्मिका कारण जनजीवन अत्यन्त प्रभावित भएको बताउनु हुन्छ । उहाँका अनुसार जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीहरु घटेका छन् । मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन छाडेका छन् । बाध्यताले घरबाहिर जानुपर्दा टाउकोमा सूर्यको प्रचण्ड किरण र सडकबाट आउने तातो रापले हिड्न नसकिने भट्टराईको प्रतिक्रिया छ । अत्यधिक गर्मीका कारण, बेल, उखु र नरिवलको रस पिउनेहरुको संख्या बढेको छ भने तरबुजा र काँक्राको विक्रि बढेको छ । पक्का घर हुनेहरुको छत तातिएर खपि नसक्नु हुने र टिनका छानाको रापले मकै नै फुल उठ्ने पत्रकार भट्टराई बताउनु हुन्छ ।
राससका अनुसार अचानक बढेको तापक्रमका कारण वीरगञ्जमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दैनिक छ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताउनुभयो ।
गर्मीका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन् । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ । गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन् ।