रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ११ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशत वृद्धि हुनेमा अधिकांश जलविद्युत् कम्पनीका रहेका छन् । अन्य ४ वटा स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५८ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।