रे समाचार/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलनका राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायतले भव्य स्वागत गर्नुभएको थियो ।
विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनले आपसी सद्भाव, सहयोग र सहकार्य अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय स्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामुलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभुति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व अझै बढेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा युगाण्डाका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरुसँग भेट भएको पनि बताउनु भयो ।
असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनले अन्तिम दस्ताबेज कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षियताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरुबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरुमा जोड दिइएको उहाँले बताउनु भयो ।
पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा रहेको र यहाँ बसोबास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई सम्मेलनमा उठाउँदै हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।
असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा प्रस्थान गर्नुभएको थियो । सो सम्मेलन यही माघ ५ गतेदेखि ६ गतेसम्म अफ्रिकी देश गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको हो ।