सोल । उत्तर कोरियाका शीर्ष राजनीतिज्ञले आफ्नो मुलुक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अभिवादन गर्न तयार’ रहेको बताउनुभएको सरकारी मिडियाले आइतबार बताएको छ । यो दुई कम्युनिस्ट मुलुकबिचको सम्बन्धलाई गहिरो बनाउने पछिल्लो सङ्केत हो ।
परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै आपसी सम्बन्धहरूलाई बढाएका छन् । प्योङयाङ नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा पुटिनसँग भेट्न दुर्लभ विदेश यात्रा गर्नुभएको थियो ।
पश्चिमाहरूले मस्को र प्योङयाङमाथि युक्रेनमा रुसको आक्रमणलाई समथर्नन गर्नका लागि मिलेर काम गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले आफ्नो सहयोगी रुसलाई लाखौँ तोपखाना गोला र हतियार पठाएको विश्वास गरिन्छ ।
उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुई गत साता पुटिन र आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटघाटका लागि मस्कोमा हुनुहुन्थ्यो । कोरियन सेन्ट्रल न्युन एजेन्सीद्वारा दिइएको विदेशमन्त्रीको सहायक कार्यालयको एक विज्ञप्तिअनुसार चोले पुटिनसँग भन्नुभयो, “उत्तर कोरियाली सरकार प्योङयाङ भ्रमणका लागि राष्ट्रपति पुटिनलाई न्यानो स्वागत गर्दछ र कोरियाली जनताको सबैभन्दा निकट मित्रलाई पूरै इमान्दारीका साथ स्वागत गर्न तयार छ ।”
उत्तर कोरियाको आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिकन अफ कोरिया (डिपिआरके) को नाम उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “पुटिनले चाँडै डिपिआरकेको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।” युक्रेनमा विशेष सैन्य कारबाहीमा रुसी सरकार र जनताको अडानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता देखाएकामा उत्तर कोरियाप्रति रुसले ‘गहिरो धन्यवाद’ व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य तथा आर्थिक सहयोगले वासिङ्टन र सोलमा चिन्ता बढाएको छ । मस्कोका रक्षा तथा विदेशमन्त्रीहरूसहितको शीर्ष रुसी अधिकारीहरूले गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । यसबाट सम्भावित हतियार सम्झौतालाई लिएर किएभका सहयोगीहरूबिच चिन्ता बढेको थियो ।
यसै महिना ह्वाइट हाउसले प्योङयाङमाथि रुसमा ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर पठाएको आरोप लगाएको थियो । यसलाई ह्वाइट हाउसले मस्कोको युद्ध प्रयासको समर्थनमा ‘महत्त्वपूर्ण तथा चिन्ताजनक वृद्धि’ भनेको छ ।
दक्षिण कोरियाले प्योङयाङमाथि सैन्य उपग्रह प्रविधिमा सल्लाहको बदलामा मस्कोलाई १० लाखभन्दा धेरै तोपखाना प्रदान गरेको आरोप लगाएको छ । उत्तर कोरियाले गत वर्ष एउटा जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्न सफलता हासिल गरेको छ । सोलले जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्न रुसी सहयोग प्राप्त भएको बताएको छ । एएफपी