RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने दोहोरो अंक बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४.४६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत् र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशतले वृद्धि भएको छ । चन्द्रागिरि हिल्सको शेयरमूल्य भने सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै गरी  ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको १७ करोडभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक, जलविद्युत् र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update