रमेश हतुवाली/काठमाडौं । काठमाडौंमा तिब्बती नयाँ वर्षको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना गरिएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विविध साँगितिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी तिब्बती नयाँ वर्षलाई स्वागत गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालका विभिन्न भागहरुमा विभिन्न पेशा, व्यवसाय गर्दै बसेका चीनको स्वायत्त प्रदेश तिब्बतका दाजुभाइ तथा दिदीबहिनीहरु, नेपालमा ठूलो संख्यामा रहेका बौद्धधर्मावलम्वीहरु र नेपाली जनतालाई तिब्बती नव वर्षको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षको सेप्टेम्वर महिनामा चीन र चीनको तिब्बतका विभिन्न भागहरुको भ्रमण गर्नुभएको स्मरण गर्नुहुँदै राजदूत छन् सोङले सो भ्रमणका क्रममा चीनका उच्च नेताहरुसँग भएको प्रधानमन्त्री प्रचण्डको भेटवार्ताले दुवै मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताउनु भयो ।
झण्डै ८ सय जना पाहुनाहरुको सहभागीता रहेको सो सांगितिक तथा साँस्कृतिक कार्यक्रममा चिनियाँ तथा तिब्बती कलाकारहरुले तिब्बतमा विद्यमान लोकप्रिय गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । कलाकार च्या मान काओ, नियान छाईराङ, चीउ सिता, वानताई छाईराङ, ताओची चसी, वानमा खानचाओ लगायतका कलाकारहरुको प्रस्तुतीलाई सहभागीहरुले महत्वका साथ हेरेका थिए ।