RayNewsDaily
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो   

सिन्धुली  । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ ।    
    
भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।    
    
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका-६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल हुनुभएको थियो भने बाँकी तीन जना अझै बेपत्ता हुनुहुन्छ ।    
    
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका-९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका-५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल हुनुहुन्छ ।    
    
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।    
    
स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूकाे खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।   

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update