
अर्जुन श्रेष्ठ, धादिङ । दुईतिर कहाली लाग्दो भिर, भिरको बीचमा मन्दिर प्रवेश गर्ने सिँढी । माछीकाँडे भौगोलिक बनोवटको टुप्पोमा पुनःनिर्माण गर्दै गरेको मन्दिर । यो दृश्य धादिङको भैरवी भन्दिरको हो । पहाडको चुचुरोमा रहेको ऐतिहासिक भैरवी मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर ६ सुनौलाबजारमा रहेको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिने यस मन्दिरमा दर्शनार्थीको निकै ठूलो घुइँचो लाग्ने गर्छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेश समितिको धादिङबेसीमा आयोजित सातौ पुर्ण बैठकको अवसर पारेर मन्दिर भ्रमणमा पुगेका पत्रकारहरुसँग कुरा गर्दै भैरवी थानका पुजारी भगवान राना मगरले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती बारेमा जानकारी दिनुभयो ।
पुजारी राना मगरका अनुसार, भगवान् भैरवकी श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लागेपछि बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल जाँदा सुँगुरको सिकार गरेर फर्किएको र सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिईएन । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरवका दुईवटा मन्दिर बनेको किंवदन्ती छ ।’
‘राजा राम शाहले वि.सं. १६६६ सालमा स्थापना गरेका आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । शाहले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन’, भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेका थिए । श्रेष्ठका अनुसार भाकल पछि पृथ्वीनारायण शाहले नुवाकोट जिते । पूजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार ७ सय ३२ रुपैयाँ ५० पैसा आउने गर्छ ।’
‘मन्दिरमा पूजासहित बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल र बली चढाउने परम्परा रहिआएको छ । वडादसैँको नवमीका दिन सो मन्दिरमा सु्ँगुरको बली दिँदै आएको श्रेष्ठले जानकारी दिनुभयो । ‘मन्दिर आइपुग्न सदरमुकामबाट ८ किलोमिटर पिच र १० किलोमिटर कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र नभई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’
२०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ । २०७६ साल फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो । १३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिरको ४ करोड बराबर खर्चले पुनर्निमाण भइरहेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष धु्रव श्रेष्ठले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । ‘भैरवी मन्दिरको पुनर्निमार्णमा नगरपालिकाले सहयोग गरिरहेको छ ।’ ‘भैरवी मन्दिर जाने सडक निर्माण, मन्दिर वरिपरी पार्क बनाउने तयारी भैरहेको छ । होमस्टे सञ्चालन र विकासका लागि पनि प्रदेश सरकारसँग समन्वय भैरहेको छ’, उहाँले भन्नुभयो–‘भैरवी मन्दिर नीलकण्ठ नगरपालिकाको चिनारी पनि बनेको छ । बजेट विनियोजन, पुर्ननिर्माण, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारमा पनि लागिरहेका छौं ।’
भैरवी मन्दिरले वडाको मात्र चिनारी नभइ जिल्ला तहमै ठूलो महत्व बोकेको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठको भनाई छ । ‘प्रचारप्रसारमा लागिरेहका छौं, ठूलो रकमको डिपिआर भएकोले पुनिर्माणको काममा ढिलाई भएको हो । तर भैरवी मन्दिरको पुर्ननिर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धन र जिल्लाकै चिनारी हुने अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो ।
मन्दिर आइपुग्नेहरू धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको नीलकण्ठ नगरपालिका-७ का कार्यवाहक वडाअध्यक्ष युवराज पोखरेलले बताउनुभयो । ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुनसके जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै पहिचान हुने उहाँको भनाई छ । फोटो : श्याम राना मगर