रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । अघिल्ला ३ कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य भने सर्वाधिक ९.९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, चन्द्रगिरी हिल्सको करिब ९ करोडको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम साढे ७ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सर्वाधिक १ प्रतिशतले घटेको छ ।