रे समाचार/काठमाडौं । हिजो सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि शेयर बजार उच्च अंकले घटेको छ ।लगानीकर्ताहरूले अपेक्षा गरेअनुसार मौद्रिक नीतिको समीक्षा नआउँदा आज लगानीकर्ताहरू निराश देखिएका हुन् । सोही निराशा आजको शेयर बजारमा देखिएको छ ।
आज शेयर बजार मापक नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो साढे ३ अर्बको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजू), समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुराँस लघुवित्तको शेयरमूल्य भने आज सर्वाधिक ९.७० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्सको करिब १२ करोडको शेयर खरिदबिक्री भएको छ भने सानिमा मिडल तमोरको कारोबार रकम १० अर्ब नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत घटेको छ । वित्त, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।