रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो करिब ६ अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने घटेको हो । आज नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ३ बर्अ ८६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो । यसैगरी छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जोशी हाइड्रोपावरको शेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५.७० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । समाज लघुवित्तको साढे ११ करोड बराबरको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम साढे १० करोड नाघेको छ ।
१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०।१५ प्रतिशत बढेको हो। बुधबार सर्वाधिक बढेको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।