RayNewsDaily
शेयर बजार घट्ने क्रम जारी

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २७.२१ अंक घटेर २०३४.८२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएकोमा आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से ओरालो लागे पनि आज दुई वटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, किसान लघुवित्तको शेयरमूल्य ८.२२ प्रतिशतले वृद्धि भएको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ६.६५ प्रतिशतले बढेको छ । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले घटेको छ । यसै गरी जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update