RayNewsDaily
शेयर बजार २० अंकले घट्यो

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २०.७६ अंक घटेर २००५.८३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य १९७ रुपैयाँ ८० पैसा बढेर २ हजार १७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने आज करिब १० प्रतिशतले बढेको छ । हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, गोर्खाज फाइनान्सको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१४ प्रतिशत र वित्त उपसमूहको ०.३३ प्रतिशतले बढेको हो । होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update