म्यानचेस्टर। कप्तान इल्काई गुन्डोगानको दुई गोलेको मद्दतमा म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै लिग च्याम्पियन सिटी एफए कपको च्याम्पियन बनेको हो ।
सिटीलाई एफए कपको च्याम्पियन बनाउन इल्केए गुन्डोगानले दुई गोल गर्नु भयो । युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काउनु भयो ।
वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले १–० को अग्रता लिएको थियो । ३३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काउदाँ ५१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउनु भयो ।त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । सिटीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ ।
अब सिटीलाई यो सिजन ट्रेवल उपाधि जित्ने सम्भावना बढेको छ । सिटीले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ । इन्टर मिलानलाई हराउन सके सिटीले ट्रेवल उपाधि जित्ने छ । सिटीसँगको हारसँगै युनाइटेड सिजनको दोस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।