RayNewsDaily
शेयर बजारमा २६ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब २० करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से घटे पनि आज बोटलर्स नेपाल (बालाजु)को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढिरहेको छ ।

यसैगरी, आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, जोशी हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ । जलविद्युत् उपसमूहको परिसूचक  सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update