RayNewsDaily
भूक्षयको कारण बन्दै ग्रामीण सडक   

गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ ।    
    
बागलुङको भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ । भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बागलुङ जिल्लामा तीन वर्षयतामात्रै एक दर्जनभन्दा धेरै बाढीपहिराको प्रमुख कारण सडक भएको उल्लेख गरेको पाइएको छ । विकासका गतिविधिमध्ये करिब तीन दशकदेखि ग्रामीण सडक खन्ने अभियान सुरु भएकामा अहिले घरघरमा सडक पु¥याउने होडका कारण भूक्षयले क्षति भइरहेको पाइएको हो । साविक धौलागिरि अञ्चलको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङको तुलनामा बागलुङमा सबैभन्दा बढी भूक्षयका घटना भएको भू तथा जलाधार कार्यालय पर्वतले जनाएको छ ।    
    
स्थानीय जनश्रमदानबाट खनिने सडक अहिले ठूला उपकरणको सहायताले खनेर घरमै पु¥याउने परिपाटीका कारण ठूलाठूला बाढीपहिरो निम्ताउँदै जनधनको क्षति भएको हो । सोमध्ये बागलुङमा ठूला प्रकृतिको क्षति भएको पाइएको धौलागिरिलाई कार्यक्षेत्र बनाएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले राससलाई जानकारी दिनुभयो ।    
    
विसं २०७७ मा ३७ जनाको ज्यान जानेगरी आएको भुजीखोलाको बाढी, विसं २०७९ को गलुवाको पहिरो, विसं २०७९ मै जैमिनीको टुनीबोटमा रहेको दुई जनाको सडक पहिरोले मृत्यु भएको, त्यसैगरी, वडारे पहिरो, जैमिनी नगरपालिका– १ घ्यूराको पहिरो, जैमिनी–९ को पहिरो, काठेखोला गाउँपालिका–१ करिना पहिरो, निसीखोला गाउँपालिका–३ को लुटिहारा पहिरो, बागलुङ नगरपालिका–१० भकुण्डे जुके ढुङ्गा पहिरोको मुख्य कारण अव्यवस्थितरुपमा खनिएका ग्रामीण सडक हुन् । बाढी पहिरोले क्षति पु¥याएको आसपासका सयौँ घर गोठ पहिरोको उच्च जोखिममा पर्दै विस्थापित भइरहेका छन् ।    
    
“वास्तवमा जनताको राहत र समृद्धिका लागि खनिएका सडक नै जनताको जनजीवन बर्बाद पारिरहेको र सडकले तत्कालै मात्र नभएर दीर्घकालीनरुपमा असर पु¥याएको छ”, पौडेलले भन्नुभयो, “यसको प्रत्यक्ष असर हामीले वर्षात्मा मात्रै देखे पनि अव्यवस्थितरुपमा खनिएका सडकले सवारी दुर्घटना निम्त्याउने, जमिनको सतहलाई घटाउँदै लैजाने र बर्षाद्मा बाढीपहिरो निम्त्याउने गरेको पाइएको छ, अब सडक खन्न बन्द गर्नुपर्ने अवस्था आएको हाम्रो निष्कर्ष हो, अव्यवस्थित सडकले निम्त्याउने जोखिम कम गर्न निरन्तर बजेट खर्च भइरहे पनि नागरिक सेचत हुन आवश्यक छ ।”    
    
सडकले बाढीपहिरो मात्रै निम्त्याएको छैन वन–जङ्गल, रुख बिरुवाको विनाश भएको र जस्ले गर्दा वन्यजन्तु र बहुमूल्य जडीबुटीको अस्तित्वमा समस्या पार्दै आएको पौडेलको भनाइ छ । स्थानीय सरकारले हरेक वर्र्ष ग्रामीण सडकमा गरेको लगानीले जनतालाई राहत दिनुको सट्टा आहात दिन थालेको पाइएको छ । बाढीपहिरोले खेतीयोग्य जमिन बगर, उर्वराविहीन र क्षतिग्रस्त बनेका कारण उत्पादनमा समय ह्रास भएको स्थानीय किसान तुल्सीराम आचार्यले बताउनुभयो ।    
    
ग्रामीण सडक खन्दा वातावरणीय पक्षलाई ध्यानमा दिनु आवश्यक रहेको पौडेलको सुझाव छ । बागलुङको तमानखोला गाउँपालिका-२ कटेरीगाउँमा सडक पुगेको पाँच वर्ष भयो । कटेरी गाउँको छेउबाट खनेको सडकले स्थानीयवासीलाई असहज भएको भन्दै अहिले बस्तीमुनिबाट खनिएको सडकले बस्ती नै बगाउने खतरा देखिएको छ ।    
    
स्थानीयवासीले खाद्यान्न ढुवानी गर्दा सडक नपाएपछि तमानखोला गाउँपालिकाले जनताको मागअनुसार बस्तीमुनिबाट सडक विस्तार गरेको छ । बस्तीमुनिबाट सडक खन्दा बस्ती जोखिममा पर्ने भन्दै बस्ती छेउबाट खनिएको सडकले हामीलाई समस्या भयो भनेपछि कटेरी गाउँमा पुनःसडक खन्न बाध्य भएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।    
    
“तमानखोलामा सडकका कारण ठूलो क्षति भएको पाइएको छैन तर सानातिना क्षति भइरहेकै हुन्छन्, नागरिकले दैलोमै सडक खोज्छन्, भिर पाखा भएको गाउँमा दैलोमै सडक पु¥याउन सकिँदैन, हुँदैन पनि”, अध्यक्ष बुढामगरले भन्नुभयो, “तर कटेरीजस्ता भिरालो गाउँमा सडक गाउँमै पु¥याउनुपर्ने स्थानीयवासीको माग हुन्छ, विकास नगरौँ स्थानीयवासीको माग छ, विकास गरौँ विनाश हुन्छ ।”    
    
सकभर सडक खन्दा कम क्षति हुनेगरी गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ । जथाभावी खनेका ग्रामीण सडकका कारण पानीका मुहान सुकाउने, कृषि उत्पादनमा ह्रास आउने, वातावरणीय र जलाधारीय अवस्थामा ह्रास आउने र समग्रमा जनताको जीवनस्तरमा प्रतिकूल प्रभाव पार्ने देखिएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update