RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको शेयर बजार आज भने बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज भोल्यूम भने कमजोर रहेको छ । हिजो ३ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बोटलर्स नेपाल (बालाजु)को शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ । समाज लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिपिडब्लु लघुवित्तको शेयरमूल्य ८.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी,  हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ६ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले वृद्धि भएको छ । होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update