RayNewsDaily
कर बढाउने निर्णय फिर्तापछि शेयर बजारमा उछाल

काठमाडौं । शेयर बजारमा कर बढाउने निर्णय फिर्तापछि शेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक ५३.०३ अंकले वृद्धि, लगानीकर्ताको आन्दोलन फिर्ता ।।

बजेटमा व्यवस्था गरिएको शेयर खरीद विक्रीमा कर वृद्धिबाट सरकार पछि हटेपछि आज शेयर बजारमा उछाल आएको छ । आगामी आर्थिक वर्षको बजेटमा गरिएको नयाँ कर व्यवस्थाले घटेको बजार सरकार सो निर्णयबाट पछि हटेपछि साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो । आज नेप्से परिसूचक ५३.०३ अंक बढेर १९१९.३७ विन्दुमा पुगेको छ । आज २७० स्टकको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज आइएमइ जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

आज १७ स्टकको मात्र मूल्य घटेको छ । यद्यपि सबै स्टकको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोल्टी होटलको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update