RayNewsDaily
यौन दुर्व्यवहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा         

टोकियो । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिनुभएको छ ।    
    
एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ ।    
    
पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताउनुभएको हो ।    
    
उहाँले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गर्नुभएको छ जसमा उहाँले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।    
    
“उहाँले टेलिभिजनसँगको सम्वादमा भन्नुभयो, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।”    
    
“प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्,” उहाँले भन्नुभयो ।    
    
प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताउनुभएको छ ।    
    
रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरूले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउनेजस्ता कार्यहरू गर्ने गरेको’ आरोप लगाइएको छ ।    
    
मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन ।    
    
साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि सुरु गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटकपटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताउनुभएको छ ।    
    
यो समाचार शुक्रबार सामाजिक सञ्जाल एक्समा ट्रेन्डिङमा परेको थियो । समाचारबारे धेरै प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका थिए ।    
    
छानबिनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षणसमेत गरेको थियो ।    
    
सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूलाई असहज महसुस गराउने काम गरेको बताएका थिए ।    
    
जापानमा विश्वव्यापी बनिसकेको ‘मिटू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरू अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च–ओहोदासँग सम्बन्धित मुद्दाहरू सार्वजनिक हुन थालेका छन् । एएफपी

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update