RayNewsDaily
शेयर बजारमा निरन्तर गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार २ अर्ब ५९ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ । त्यस्तै गरी, सिवाईसी लघुवित्तको शेयरमूल्य ७.८० प्रतिशत बढेको छ । पछिल्ला कारोबार दिनहरूमा निरन्तरजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य भने आज ५.६९ प्रतिशतले बढेको छ । चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.४९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो । व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.५२ प्रतिशतले घटेको छ । अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update