रे समाचार/काठमाडौं । नयाँ सत्ता गठबन्धनपछि शेयर बजार अनुकूल अर्थमन्त्री आउने हल्लाले हिजो ६ प्रतिशत बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । हिजो सत्ता गठबन्धन टुटेसँगै अर्थमन्त्रालयमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल नआउने हल्ला आएपछि आज शेयरबजार उच्च दरमा घटेको हो ।
आज शेयर बजार मापक नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा झरेको छ । आज ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, आज बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशतले घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.७३ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने घोराही सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये आज एउटा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ भने कारोबारमा आएका अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेका छन् । जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।