रे समाचार/काठमाडौं । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंक बढेर बन्द भएको छ । गठबन्धनको हिजो बसेको बैठकले माओवादीका नेता वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो ।
राजनीतिक अन्यौलका बीच उतारचढाव भइरहेको शेयर बजार मापक नेप्से अर्थमन्त्रीको नियुक्तिसँगै सम्हालिएको हो । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने आज सामान्य घटेको छ । हिजो करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ । यसैगरी जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक भने आज घटेका छन् ।