RayNewsDaily
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित    

रे समाचार/काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।     

राष्ट्रिसभाको आज बसेको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत-परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष उर्मीला अर्यालले सांसद दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।     
     
त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ जना सांसद सहभागी हुनुभयो भने एकजना सांसद तटस्थ रहनुभयो । जम्मा ५९ सदस्यीय सो सभामा हाल ५८ जना सदस्य कायम छन् ।     
     
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (एमाल) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गर्नुभएको थियो । सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको पूर्णसफलताको कामना गर्नुभएको छ ।     
     
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गर्नुभएको थियो भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।     


 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update