काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएका दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडी बढाउने बताउनु भयो । उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई जनताको बीचमा स्थापित गर्नेगरी काम गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले सभामा भएका छलफल र गरिएका निर्णयहरु कार्यान्वयन गराउन पनि आफ्नो ध्यान पुग्ने बताउनु भयो । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका दाहाल आज राष्ट्रियसभाको बैठकमा भएको मतविभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत गरिएको प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो । नेपाली कांग्रेसका उमेद्वार युवराज शर्मा यस निर्वाचनमा पराजित हुनु भएको छ । मत विभाजन प्रक्रियामा ५६ जना सदस्यहरु उपस्थित रहेका थिए । दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत हुनुभएका दाहालको कार्यकाल चार वर्ष बाँकी रहेकाले उहाँले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्नुहुनेछ । रासस