रे समाचार/काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि उकालो लागिरहको शेयर बजार आज सामान्य अंकले घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य ९५ रुपैयाँ ५० पैसा बढेर १ हजार ५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत बढेको छ । त्यस्तै, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।