रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ४ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
नेप्सेमा करेक्सन भए पनि आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको ८.०८ प्रतिशतले वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.०२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५० करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्ट्सको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको कारोबार रकम १६ करोड नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ । लघुवित्त उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।