रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंक घटेर बन्द भएको छ । हिजो पनि सामान्य अंक घटेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज तीनवटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु)को शेयरमूल्य भने सर्वाधिक ९.३२ प्रतिशत घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । हिजो ३ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गरी, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सर्वाधिक १.४५ प्रतिशतले घटेको छ ।