रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आज पनि पनि घटेरै बन्द भएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२५ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।