रे समाचार/काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ।
बेइजिङस्थित स्टेट गेष्ट हाउसमा सोमबार अपराह्न भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रूपमा रहेका स्मरण गराउँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुनेमा विश्वस्त तुल्याउनुभएको छ । चीनले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको सरहाना गर्दै उहाँले आगामी दिनमा चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गर्नुभयो ।
उपप्रम श्रेष्ठले नेपाल-चीन सीमामा रहेका १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै पोखरा विमानस्थलमा चीनका विभिन्न शहरबाट नियमित हवाइ उडान गर्न अनुरोध गर्नुभयो । नेपालले चिनियाँ पर्यटकलाई भिसामा सहजीकरण गरेको स्मरण गराउँदै उहाँले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सीपीपीसीसीका अध्यक्ष हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रूपमा रहेको बताउनुभयो । उहाँले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको स्मरण गर्नुभयो । चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सीपीपीसीसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहने बताउनुभयो । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रूपमा लैजान सहयोग रहने बताउनुभयो ।
भेटवार्तामा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो । चीनको प्रतिनिधिमण्डलमा हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो ।