RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो २ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै गरी, विन नेपाल लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । धौलागिरी लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ९.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोनापुर मिनरल्स एण्ड आयलको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम ८ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ । वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update