RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । हिजो सामान्य अंकको करेक्सन भएको बजार आज पुनः बढेको हो । आज नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । २६९ स्टकको ३६ हजार ११८ पटकको कारोबारमा १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको ५५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज विशेष गरी होटल तथा पर्यटन उपसमूहमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ । वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको साढे ८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update