RayNewsDaily
इजरायली आक्रमणमा ३६ जना सिरियाली सैनिकको मृत्यु       

बेरुत । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ ।    
    
बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ । आक्रमणमा अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । इजरायली विमानले एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थल नजिक आक्रमण गरेका थिए ।    
    
सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार आज बिहानै गरिएको उक्त आक्रमणबाट सिरियाली सैनिक सहित धेरै सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै सानाले इजरायली लडाकू विमानले एलेप्पोको दक्षिणपूर्वी अथरियाबाट आक्रमण गरेको जनाएको छ ।    
    
इजरायली सेनाले भने उक्त आक्रमणका बारेमा केही बताउन अस्वीकार गरेको छ ।  सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता इजरायलले सैयौं पटक सिरियाली भूभागमा हवाई आक्रमण गरिसकेको छ । इजरायलले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहलाई हतियार आपूर्ति हुन नदिन यस्तो आक्रमण गरिआएको बताउँदै आएको छ ।    
    
गत अक्टोबर ७ मा गाजा क्षेत्रमा हमास विरुद्धको युद्ध प्रारम्भ भएसँगै इजरायलले सिरियाली भूभागमा पनि आक्रमणको संख्या बढाएको छ । गाजामा युद्ध आरम्भ भएयता हमास समूहसँग निकट सम्बन्ध रहेको हेज्बुल्लाह विरुद्ध दैनिकजसो इजरायलले आक्रामक कारबाही गरिरहेको छ ।  पछिल्ला छ महिनामा इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३ सय ४६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हेज्बुल्लाहका लडाकूहरु रहेका छन् । स्रोतका अनुसार यी आक्रमणबाट मारिएकामध्ये कम्तीमा ६८ जना सर्वसाधारण छन् । एएफपी

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update