RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर आज भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माया खोला हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, गोर्खाज फाइनान्सको साढे १२ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको साढे ११ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१२ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक, लघुवित्त र व्यापार उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update