RayNewsDaily
शेयर बजार घट्ने क्रम जारी

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज दुई वटा स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, माहुली लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यसैगरी, हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो । 
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update