RayNewsDaily
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

रे समाचार/काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।   

सोअघि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले आज दिउँसो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो । माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा महरालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update