ललितपुर । नेपाल जडीबुटी तथा हर्बल उत्पादन सङ्घको आयोजनामा दुई दिवसीय बजार पहुँच उद्योग कार्यशाला आजदेखि ललितपुरमा सुरु भएको छ ।
दिगो, व्यवस्थित र निष्पक्ष रूपमा व्यापार गर्न सकिने नेपालका जटिबुटीजन्य उत्पादनको अन्तर्राष्ट्रिय करण गर्न तथा नेपाली उत्पादक र अन्तर्राष्ट्रिय क्रेताहरूबिच सम्पर्क स्थापित गर्न कार्यसाल आयोजना गरिएको हो ।
कार्यक्रमका दौरान सञ्चारकर्मीसँग बोल्दै नेपाल जडीबुटी तथा हर्बल उत्पादन सङ्घका अध्यक्ष प्रेम प्रसाद तिवारीले निकट भविष्यमा जडीबुटीको व्यापार नेपालका लागि विदेशी मुद्रा आर्जनको शीर्ष श्रोत बन्न सक्ने दाबी गर्नु भयो । उहाँले जडीबुटीको उत्पादन, सङ्कलन, प्रशोधन र बजारीकरण प्रणालीलाई चुस्त बनाउन र नीतिगत सुधार ल्याउन सरकारसँग आग्रह गर्नु भयो ।
अध्यक्ष तिवारीले कार्यशालालाई लिएर विदेशी आयातकर्ता उत्साहित भएको बताउनु भयो । कार्यशालाले अन्तर्राष्ट्रिय खरीदारहरूसँग परिचय र अन्तरक्रिया गर्ने अवसरहरू सिर्जना गरेको उहाँको भनाइ छ । कार्यशालामा जडीबुटी व्यवसायी र उत्पादक नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरू, चीन, भारत, अमेरिका, भुटान लगायत युरोपका विभिन्न देशका जडीबुटी व्यावसायीहरुको प्रत्यक्ष र भर्चुअल माध्यममा सहभागिता रहेको थियो । आज र भोलि गरी दुई दिन सम्म चल्ने कार्यशालामा नेपालमा पाइने दुर्लभ जडीबुटीको बारेमा जानकारी गराइनुका साथै नेपाली उत्पादक र विदेशी व्यावसायीहरुबिच छलफल र अन्तरक्रिया गरिँदै छ ।