RayNewsDaily
शेयर बजार आज पनि वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य वृद्धि भएको छ । पछिल्ला २ कारोबार दिनदेखि उकालो लागेको शेयर बजार मापक नेप्से परिसूचकले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ । आज २७३ पटकको कारोबारमा ४३ हजार १२८ पटकको कारोबारमा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको ५९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज दोल्ती पावर र भूगोल इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुबै कम्पनीको शेयर आजदेखि कारोबारमा आएका हुन् । दोल्तीको शेयरमूल्य २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ भने भूगोल इनर्जीको शेयरमूल्य २० रुपैयाँ २० पैसा बढेर २२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ६.६४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५८ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । आज बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update