RayNewsDaily
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी   

गलकोट । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् ।    
    
 कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।    
    
“पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उहाँले भन्नुभयो । उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताउनुभयो । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ । यसका लागि रु २० लाख बजेट स्वीकृत भएको छ ।    
    
बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताउनुभयो । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update