RayNewsDaily
मदन भण्डारीकाे हत्यारा पत्ता लगाउन देउवाद्वारा कम्युनिष्टहरूलाई चुनौती
नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा सोमबार ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा मन्तव्य राख्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः किरणराज विष्ट/रासस

रे समाचार/काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

आज  ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उहाँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गर्नुभयो । कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो ।

उहाँले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै तर उहाँको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहनुभएकी विद्या भण्डारीलाई पनि प्रश्न गर्नुभयो । दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा कांग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताउनु भयो । उहाँले कांग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताउनु भयो ।

सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनु भयो । उहाँले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आगह गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update