रमेश हतुवाली/काठमाडौं । नेपाल–चीन जनमैत्री समाजले “नेपालको राष्ट्रियता र थपिएका चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आज सम्पन्न सो कार्यक्रममा बोल्दै सम्बन्धित क्षेत्रका विज्ञहरुले नेपाल राज्यको स्थापनादेखि यसले भोग्नु परेका भूराजनैतिक चुनौती, सन् १८१६ मा नेपाल र तत्कालिन इष्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धि, चिनियाँ क्रान्ति र सोभियत संघको स्थापना, नेपालको परराष्ट्रनीति, असम्लग्न आन्दोलनमा नेपालको भूमिका र वर्तमान विश्व परिस्थीति लगायतका विविध विषयमा गम्भिर समिक्षा गर्नुभएको छ ।
नेपालको उत्तरी छिमेकी चीनको उदाउँदो अर्थतन्त्र, अमेरिका र चीनबीच बढ्दो व्यापारीक द्वन्द्व, रुस र युक्रेनबीच विद्यमान लडाई, हमास र इजारायलबीचको तनाब लगायतका राजनीतिक तथा आर्थिक कारणहरुले नेपालको राष्ट्रियतामा गम्भिर चुनौती थपिएको विज्ञहरुको भनाइ छ ।
कार्यक्रममा बोल्नुहुँदै प्रध्यापक डाक्टर खगेन्द्र प्रसाईले नेपाल जस्ता देशले उत्तेजनामा आएर राष्ट्रियता जोगाउन नसक्ने बताउनु भयो । डाक्टर प्रसाईले अमेरिकी परियोजना अन्तरगत चीनलाई घेर्ने नीति, नेपालमाथि भारतको परम्परागत प्रभाव र आफ्नो देशको सुरक्षाको लागि अमेरिकाको प्रभाव रोक्न चीनले निर्वाह गर्नुपर्ने भूमिका लगायतका ३ वटा देशको प्रतिस्पर्धाभित्र नेपालको राष्ट्रियता जोडिने बताउनु भयो ।
नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले बहुराष्ट्रिय कम्पनीहरुमाथि धनी राष्ट्रहरुको प्रभाव र कब्जा, विदेशी पूँजी र प्रविधीको प्रवेश लगायतका विविध विषयहरुले नेपालको राष्ट्रियतामाथि चुनौती थपिएको बताउनु भयो ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतमा रहेको तत्कालिन इस्ट ईन्डिया कम्पनीसँग नेपालले बाध्य भएर गर्नुपरेको सुगौली सन्धिदेखि नेपालको राष्ट्रियतामाथि चुनौती थपिएको बताउनुभयो । मुलुकको राष्ट्रियताका पक्षमा आवाज उठाउँदा नाकाबन्दी होला वा नुन तेल रोकिएला भनेर डराउने प्रवृति नरोकिएसम्म राष्ट्रियतामाथिको चुनौती नहड्ने अध्यक्ष नेपालको भनाइ छ ।
प्राध्यापक डाक्टर बाल मुकुन्द रेग्मीले नेपाली जनताको बाह्मुलुकसँगको परनिर्भरता बढ्दै जानु र कृषि, उद्योग, व्यापार जस्ता क्षेत्र दिनानुदिन कमजोर हुनै जानुले पनि नेपालको राष्ट्रियतामाथि चुनौती थपिएको बताउनु भयो ।
संविधान सभाका सदस्य तथा सहप्राध्यापक लीला न्यार्ईच्याईले राष्ट्रियतामाथिको चुनौती सम्पूर्ण वर्ग, क्षेत्र, पेशा, समुह, समूदाय लगायत आमनागरिकको एकताबाट हटाउन सकिने बताउनु भयो ।
जलश्रोत विज्ञ तथा लेखक रतन भण्डारीले दलहरु कमजोर हुँदा राष्ट्रियता वलियो बनाउने र दलहरु वलियो हुँदा राष्ट्रियता कमजोर बनाउने नेताहरुको राजनीतिक चरित्रले नेपालको राष्ट्रियतामाथि अझै चुनौती थपिएको तर्क गर्नुभयो ।
कार्यक्रम आयोजक संस्था नेपाल–चीन जनमैत्री समाजका अध्यक्ष तथा संविधान सभाका सदस्य कर्णजीत बुढाथोकीले विश्वको राजनीतिमा तिब्र धु्रवीकरण हुँदै गएको अवस्थामा हामीले चाहेर वा नचाहेर पनि नेपालको राजनीति त्यसबाट अलग हुन सक्ने अवस्थामा नरहेको र विगतमा भन्दा वर्तमानमा राष्ट्रियतामाथि अझ धेरै चुनौतीहरु थपिएको बताउनु भयो ।
नेपाल–चीन जनमैत्री समाजका संस्थापक सचिव तथा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले नेपालको भूराजनीतिक चुनौती र यस विषयमा राखिने दृष्टिकोण समय अनुसार परिवर्तन हुँदै गएको बताउनु भयो ।
कार्यक्रमका सहभागीहरुले बदलिँदो विश्व परिस्थीतिमा नेपालको राष्ट्रियतामाथि थपिन सक्ने चुनौतीहरुबारे सजग रहन यस्ता कार्यक्रमहरुको भूमिका महत्वपूर्ण रहने प्रतिक्रिया दिएका छन् ।