रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सिर्जनशील लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य १२४ रुपैयाँ ८० पैसा बढेर १ हजार ३७२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ भने युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मानुषी लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सांग्रिला डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको आज १० करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, पोखरा फाइनान्स र सोनापुर मिनरल्स एण्ड आयलको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशत बढेको छ । विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक २.४० प्रतिशतले घटेको छ ।