रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २४.३९ अंक बढेर १९९८.८९ विन्दुमा पुगेको छ ।
लगानीकर्ताहरू आज वाणिज्य बैंकमा आकर्षित देखिएका छन् । आज सो उपसमूहको परिसूचक उच्च दरमा वृद्धि भएको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ । लगानीकर्ताहरू वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो । त्यस्तै, लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, गुराँस लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सिवाईसी लघुवित्तको शेयरमूल्य भने आज सर्वाधिक ५.६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।