RayNewsDaily
शेयर बजारमा २८ अंकको वृद्धि

रे समाचार/काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।

नेप्से सूचक बढेर २००० विन्दु माथि पुगेपछि कारोबार रकम पनि बढेको छ । हिजो करिब साढे ३ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा आज ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्, जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले वृद्धि भएको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र युनिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर पनि ९.९९ प्रतिशतले बढेको छ ।

यता हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ । आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड र आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update