RayNewsDaily
सालपा विकास बैंकको सिइयोमा योगेन्द्र पुन मगर नियुक्त 

रे समाचार/काठमाडौ । सालपा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा योगेन्द्र पुन मगर नियुक्त हुनु भएको छ ।

अहिलेसम्म कार्यभार सम्हाल्दैआउनुभएका प्रमुख कार्यकारी अधिकृत ईश्वरमान राईको कार्यअवधी सकिएकोले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको सालपा विकास बैंकका अध्यक्ष टंक राईले बताउनुभयो । १६ वर्ष अगाडि Management Trainee गरेर बैंक अफ काठमाण्डौमा Junior officer बाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका मगरले पछिल्लो समय लक्ष्मी सनराईज बैंकको बागमती प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।  

२०८१ जेठ १ गतेदेखि सालपा विकास बैंकको कार्यकारी प्रमुख सम्हाल्ने भएपछि छिट्टै नै IPO खुलाएर ५ जिल्ले हुनेवित्तिकै प्रदेश स्तरको बनाउनको लागि बैंकको कर्मचारीले मात्र नभई सम्पूर्ण शेयरधनीहरुले पनि बैंकमा बचत र मुद्दतीको लागि जोड दिनुपर्ने नवनियुक्त सिइयो योगेन्द्र पुन मगरले बताउनु भयो । दुर्गम खोटाङ जिल्लाबासीहरुले वित्तिय क्षेत्रमा पहुँच पुर्याउन र बैंकिङ कारोबार गर्न सजिलो होसभनी २०६९ साउन १ गते सानो पुँजीमा विशेष व्यवस्था बमोजिम ‘ख’ वर्गको एक जिल्ले बैंक स्थापना गरेका थिए । बैंकले सुरुमा एउटा मात्र जिल्लाको ईजाजत प्राप्त गरेकोले सोही अनुसार हालसम्म खोटाङ जिल्ला भित्रका सदरमुकाम दिक्तेल, हलेसी, ऐंसेलुखर्क, सिम्पानी, चिसापानी र बाक्सिला बजार गरी ६ वटा स्थानमा शाखा सञ्चालन गरेको छ ।

राष्ट्र बैंकबाट थप चारवटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने अनुमति प्राप्त भएको पहिलो वर्ष भित्र उदयपुर जिल्लामा १, सुनसरी जिल्लामा २, मोरङ जिल्लामा १ र झापा जिल्लामा १ वटा गरी ५ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको अध्यक्ष राईले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update