RayNewsDaily
शेयर बजार स्थिर

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार स्थिर रहेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको छ ।

आज तीन वटा लघुवित्त कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ भने सिईडिबि लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.०३ प्रतिशतले वृद्धि भएको छ । माण्डु हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ ।

लघुवित्त कम्पनीहरूको शेयरमूल्य उच्च दरमा बढेसँगै लघुवित्त उपसमूहको परिसूचक पनि आज उच्च दरमा बढेको छ । १३ उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले वृद्धि भएको छ । अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ । विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेप्से स्थिर रहे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ७० करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, पोखरा फाइनान्सको करिब १२ करोडको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update