रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न सहज भएसँगै आज शेयरबजार सूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत आजको बजारमा परेको देखिन्छ । यसअघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो ।
नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशतले वृद्धि भएको छ । माण्डु हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ ।