–टीकाराम सुनार/चन्दन ठाकुर/जनकपुरधाम । नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ । स्थानीयमध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ भोलाबाबा मन्दिर वरपर करिब साढे तीन बिघा क्षेत्रफलमा त कसैले वडा नं १ को दक्षिणबारी टोल नेपालकै होचो स्थान भएको दाबी गर्छन् तर दाबी गरिएका दुवै ठाउँमा पहिचान झल्किने कुनै प्रमाण भेटिदैन ।
स्थानीयवासी रामसोभार चनीले वडा नं २ मा होचो स्थान दाबी गनुभयो र भन्नुभयो, “यही ठाउँ हो नापेको । सुरुको चहलपहल हेर्दा अब केही हुन्छ कि जस्तो लागेको थियो, त्यो पनि कता गएर अड्कियो थाहा छैन । न स्थानीय सरकारले केही गर्यो न अरु कुनै संस्थाले नै ।”
त्यस्तै वडा नं १ का स्थानीयवासी अशोक यादव होचो स्थान दक्षिणबारी टोलमै भएको दाबी गर्नुहुन्छ । “तपाईले पनि पढ्नुभएको होला होचो स्थान धनुषाको मुसहरनिया भनेर । वडा नं २ त तत्कालीन मुखियापट्टी हो”, अशोकले भन्नुभयो ।
होचो स्थानका विषयमा चासो राख्दै आउनुभएका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले पहिले वडा नं १ मा होचो स्थानबारे चर्चा भए पनि पछिल्लो पटक नापजाँच हुँदा वडा नं २ को पुर्नी पोखरी भैरवबाबा मन्दिर छेउमा होचो स्थान भेटिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पहिले वडा नं नम्बर १ का केही स्थान र सुदखोलामा पनि नापी भएको थियो तर खोला, दशगजा छेउमा नापेर त काम भएन । पछि यता नाप्दा वडा नं १ को भन्दा होचो देखियो । सोहीअनुसार हामीले वडा नं २ मा होचो स्थान दाबी गरेर केही संरचना पनि बनाउन खोज्दैछौँ ।”
वडा नं २ का अध्यक्ष नरेशप्रसाद यादवको पनि आफ्नै दाबी छ । “होचो स्थान वडा नं २ को पुर्नी पोखरी छेउमा हो । नापीका क्रममा पनि यो भनिएको हो । त्यहीअनुसार यहाँ दृश्यवलोकन स्तम्भलगायतका संरचना बनाउने कुरा पनि भएकै हो ।”ं दुबै वडाका स्थानीयवासी आआफ्नै ठाउँमा होचो स्थान भनेर दाबी रहेको छ ।
नापी विभाग खगोल तथा भूमापन महाशाखाका उपनिर्देशक अमिरप्रसाद न्यौपानेले भन्नुभयो, “पहिले झापाको केचनाकवल र अहिले धनुषाको मुसहरनिया होचो स्थान भनिदैछ । सरकारले कहिल्यै आधिकारिक घोषणा गरेको र गर्ने योजना पनि छैन । स्थानीयले दाबी गरिरहेको विषयमा केही भन्नु छैन ।”
होचो स्थानका विषयमा स्थानीयस्तरमा फकरफरक ठाउँमा दाबी रहे पनि यहाँका नागरिकहरुको पीडा वर्षौदेखि सम्बोधन हुन सकेको छैन । यी दुबै टोल जमुनी, सिमरा र विगिही नदी छेउमा रहेकाले वर्षेनी नदी कटानको समस्याबाट स्थानीयवासी पीडित छन् । “होचो ठाउँ जहाँ भए पनि हामीले लाभ त केही पाइरहेका छैनौँ बरु पीडामाथि पीडा छ । वर्षायाममा चारैतर्फ चार÷पाँच फिट पानी भरिन्छ, ज्यान जोखिममा पर्छ”, स्थानीय ८० वर्षिय रामवृक्ष यादवले पीडा सुनाउनुभयो ।
स्थानीय ज्येष्ठ नागरिक ७० वर्षिय रामाषिस रायले वर्षायाममा डुबानले मान्छे, घर तथा घरभित्र जोहो गरेका सामान जोखाउन मुस्किल हुने गरेको बताउनुभयो । अर्का स्थानीय पुरन यादव, संजिव यादवलगायतले नेपालको नक्सा हेरेर पनि मुखियापट्टी मुसहरनियाको दुर्दशा अनुमान गर्न सकिने बताउनुहुन्छ ।
वडा नं २ का अध्यक्ष नरेशप्रसाद पनि स्थानीय स्रोतसाधनले नभ्याउने र स्रोतसाधन भएको प्रदेश तथा केन्द्र सरकारले यहाँका जनतालाई जोगाउने गरी योजना अगाडि सार्न नसकेको बताउनुहुन्छ । तीनैतिर रहेका ठूला नदीहरु छेउमा भारतीय पक्षले ठूला बाँध र सडक बनाएको छ । वर्षामा यहाँ पानीको डुबानको समस्या छ । खेतीयोग्य जमिन समाप्त हुने अवस्थामा छ । मानववस्ती वर्षेनी ज्यान हत्केलामा राखेर बस्नु परेको उहाँको भनाइ छ ।
प्रदेशसभा सदस्य राम सरोज यादवले यो गाउँपालिका नेपालकै पानी निकास हुने ठाउँ भएकाले यहाँको विशेषता र संवेदनशीलता दुवै हेरेर सरकारले नदी रोकथाम र विकासका काम अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । वर्षात्मा यहाँ पानीले जलमग्न भएको तलाउभन्दा अरु केही देखिँदैन भने अरु बेला पानी नभएर सुख्खा जमिन मात्रै देखिन्छ । पर्यटकीय गतिविधिबाटै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद जुलिकुमारी महतोले मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ र २ का वासिन्दालाई डुबानको समस्याबाट मुक्त गर्न जमुनी र विगिही नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएको बताउनुहुन्छ ।