रमेश हतुवाली काठमाण्डू । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिया गरिवीबाट मुक्ति प्राप्त गर्ने नेपालीहरुको व्यवसायको रुपमा स्थापित भएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय चिया दिवस, २०२४ को उपलक्ष्यमा काठमाण्डूमा “सद्भावनाको लागि चिया : याची साँस्कृतिक कार्यक्रम तथा नेपालमा आन्हुई सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम” मा आयोजक संस्थाको तर्फबाट बोल्नुहुँदै राजदूत छन् सोङले आज सो विचार व्यक्त गर्नुभएको हो । “चीनको कडा मागले नेपालको चिया उद्योगको विकास र समृद्धिलाई पनि थप प्रवद्र्धन गरेको छ । आजको दिनमा चिया नेपालको अलैची पछिको दोस्रो ठूलो कृषि निर्यात उद्योग भैसकेको र धेरै नेपाली साथीहरुले यसलाई गरिवीबाट मुक्ति प्राप्त गर्ने व्यवसायका रुपमा स्थापना गरेका छन् ।” राजदूत छन् सोङले भन्नुभयो ।
राजदूत छन् सोङले अन्तर्राष्ट्रिय चिया दिवसको यस विशेष दिनमा चियालाई नै मिलनको प्रतीक बनाएर यहाँहरुजस्ता विशिष्ठ पाहुनाहरुसँग एकै ठाउँमा जमघट भएर चियाको मजा लिन र चिया बारे नै छलफल गर्ने अवसर पाएकोमा अत्यन्त गौरवान्वित महशुस गरिरहेको जानकारी दिनुभयो ।
चीनको चिया संस्कृतिबारे लामो इतिहास र समृद्ध प्रजातीहरु बोकेका क्षेत्रहरु मध्ये आन्हुई चिया उत्पादन गर्ने प्रमुख क्षेत्रहरुमध्ये एक हो भन्नुहुँदै राजदूत छन् सोङले विभिन्न प्रजातिका चिया मध्ये आन्हुईकोे किमन कालो चियालाई यसको ताजा र गुलावी स्वादका कारण कालो चियाको राजा भनेर चिनिने गरेको पनि बताउनु भयो ।
विगतमा नेपाल प्राचिन टि हर्स रोडको एक महत्वपूर्ण विन्दू हुनेगरेको तथ्यले पनि चिया व्यापारलाई नेपाल र चीनबीच पुस्तौंपुस्तादेखि रहिआएको मित्रताको साक्षी हो भन्न सकिन्छ भन्नुहुँदै राजदूत छन् सोङले दुई देशबीचको चिया उद्योगको स्वस्थ र समन्वित विकासलाई प्रवद्र्धन गरेर पारम्परिक लाभ, आदानप्रदान र आपसी सिकाईलाई प्रवद्र्धन गर्न चियालाई माध्यमको रुपमा प्रयोग गर्न चीन ईच्छुक रहेको जानकारी पनि दिनुभयो ।
राजदूत छन् सोङको सम्बोधनको पूर्ण पाठ
आज अन्तर्राष्ट्रिय चिया दिवसको यस विशेष दिनमा चियालाई नै मिलनको प्रतीक बनाएर यहाँहरुजस्ता विशिष्ठ पाहुनाहरुसँग एकै ठाउँमा जमघट भएर चियाको मजा लिन र चिया बारे नै छलफल गर्ने अवसर पाएकोमा अत्यन्त गौरवान्वित महशुस गरिरहेको छु ।
चीनमा उत्पत्ति भएको यो पेय पदार्थ चिया अहिले विश्वभर लोकप्रिय हुनुका साथै विश्वका तीनवटा प्रमुख मादक पदार्थरहित पेय पदार्थ मध्ये पहिलो दर्जामा परिसकेको छ । प्राचिन पूर्व छिन राजवंशदेखि नै चिनियाँहरुले चिया रोप्ने, टिप्ने, बनाउने र पिउने गर्न थालेका थिए । उनीहरुले ग्रिन टि अर्थात हरियो चिया, ब्ल्याक टि अर्थात कालो चिया, मिल्क टि अर्थात दुध चिया, उ–लोङ चिया र अन्य थुप्रै प्रकारका चियाहरु विकास गरि चिनियाँहरुको दैनिक जीवन अनि चाडवाडमा गहिरो रुपमा समाहित गर्न सफल भएका छन् । यति मात्र नभएर सिल्क रोड अनि प्राचिन टि हर्ष रोड आदि मार्फत संसारभरी प्रवेश गर्न पनि सफल भएका छन् । आज, चिया चीन र विश्वका मानिसहरुलाई एकअर्कालाई चिन्न, चिनियाँ सभ्यता र विश्वका अन्य सभ्यताहरुबीचको आदान प्रदान र आपसी शिक्षाको लागि महत्वपूर्ण माध्यम बनेको छ, यो मानव सभ्यताको साझा धन बनिसकेको छ ।
विगतमा नेपाल प्राचिन टि हर्स रोडको एक महत्वपूर्ण विन्दू हुनेगरेको तथ्यले पनि चिया व्यापारलाई नेपाल र चीनबीच पुस्तौंपुस्तादेखि रहिआएको मित्रताको साक्षी हो भन्न सकिन्छ । उन्नाईसौं शताब्दिको मध्यमा, नेपालले चीनबाट चियाका प्रजातिहरु भित्रियायो जसले नेपालमा स्थायी चिया खेतीको नयाँ युगको रचना गर्यो । समयको वहावसँगै चीनबाट भित्रियाईएका ती चियाको बोटहरुले हिमालयको दक्षिणी फेदमा जरा गाडे, हुर्किउ र आज प्रगाढ रुपमा बढिरहेका छन् । यसको दुईसय वर्षपछि नेपाली जनताको गहिरो मित्रभावका साथ चिया पुनः चीनमा फर्कियो । हालका वर्षहरुमा चिया लगायत नेपालको कर लाग्ने उत्पादनको ९८ प्रतिशतमा चीनको सून्य महशुल भुक्तानी सेवाका कारण चिनियाँ बजारमा नेपाली चियाको सेयर अर्थात भाग बढ्दै गएको छ । साथै चीनको कडा मागले नेपालको चिया उद्योगको विकास र समृद्धिलाई पनि थप प्रवद्र्धन गरेको छ । आजको दिनमा चिया नेपालको अलैची पछिको दोस्रो ठूलो कृषि निर्यात उद्योग भैसकेको र धेरै नेपाली साथीहरुले यसलाई गरिवीबाट मुक्ति प्राप्त गर्ने व्यवसायका रुपमा स्थापना गरेका छन् ।
विश्वमा सबैभन्दा बढी खपत हुने चियामा कालो चिया पर्दछ । ती मध्ये आन्हुईको किमन कालो चिया, भारतको दार्जिलिङको कालो चिया, असामको कालो चिया र सिलोनको उच्च पहाडी कालो चिया संसारकै चार अती सुगन्धित कालो चिया भनेर प्रख्यात छन् । चीनको चिया संस्कृतिबारे लामो इतिहास र समृद्ध प्रजातीहरु बोकेका क्षेत्रहरु मध्ये आन्हुई चिया उत्पादन गर्ने प्रमुख क्षेत्रहरुमध्ये एक हो । विभिन्न प्रजातिका चिया मध्ये यहाँको किमन कालो चियालाई यसको ताजा र गुलावी स्वादका कारण कालो चियाको राजा भनेर चिनिन्छ । इलाम, जसलाई नेपालको चियाको राजधानी भनिन्छ र भारतस्थित दार्जिलिङलाई एउटा सीमारेखाले मात्र छुट्याएको छ । यी दुई ठाउँबीच भौगोलिक समानता भएता पनि नेपाली चियाको स्वाद वेग्लै छ । आज, हामी यहाँ चियासँगै साथीहरु भेटौं र विविधतामा सद्भाव अनि साझा सौन्दर्यलाई सार्थकता प्रदान गर्ने चिया संस्कृतिको मनोरम आनन्द त लिने नै छौं तर यसबाहेक पनि सम्पूर्ण नेपाली मित्रहरुले ह्वाङ–मेइ ओपेराको प्रस्तुती, चिया कलाको प्रदर्शनी, सुलेख अन्तरक्रिया कार्यक्रम, पर्यटन प्रवद्र्धन आदिका माध्यमबाट आन्हुईको भव्य प्राकृतिक सुन्दरता र लामो साँस्कृतिक इतिहासलाई बुझ्नु हुनेछ भन्ने आशा गर्दछौं । साथै हजुरहरु सबैलाई आन्हुई भ्रमण गरि त्यहाँको विकास, परिवर्तन र अनन्त मनोरम परिदृश्यको अनुभव गर्न हार्दिक स्वागत पनि गर्दछौं ।
अन्तमा, दुई देशबीचको चिया उद्योगको स्वस्थ र समन्वित विकासलाई प्रवद्र्धन गरेर पारम्परिक लाभ आदानप्रदान र आपसी सिकाईलाई प्रवद्र्धन गर्न चियालाई माध्यमको रुपमा प्रयोग गर्न चीन ईच्छुक छ । यसले दुई छिमकी राष्ट्रका धेरै भन्दा धेरै मानिसहरुबीच पारम्परिक आदान प्रदान, साँस्कृतिक समिश्रण, अटुट कडी निर्माणमा अवश्य पनि महत्वपूर्ण टेवा पुर्याउने छ ।
यहाँहरु सबैलाई धन्यवाद ।